कञ्चनपुरका किसान धान भित्र्याउनमा व्यस्त ,गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान

Image

धनगढी । कञ्चनपुरमा किसान धान भित्र्याउनमा व्यस्त रहेका छन् । खेतमा लगाएको बाली तयार भएपछि काटेर भित्र्याउन उनीहरु जुटेका हुन् । ‘धान पाकिसक्यो, वर्षाले भिजाउला कि भन्ने पिरले धान काटेर भित्र्याइरहेका छौँ’, कृष्णपुर नगरपालिका–७ का किसान मोहन भट्टले भन्नु भयो । ‘पानीले अब क्षति नगरेमा बाला राम्रै लागेको छ, किरा पनि नलागेकाले यस वर्ष उब्जाउ विगतभन्दा राम्रै हुन्छ ।’

कञ्चनपुरमा उन्नत जातका बीउको प्रयोग र समयमै भएको वर्षाका कारण यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । ‘गत वर्षभन्दा यस वर्ष धानको उत्पादनमा २५ देखि ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौँ’, कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भन्नु भयो । ‘यसपटक नयाँ जातको बीउको प्रयोग र समयमै वर्षा भएकाले पर्याप्त सिँचाइ पुगेको छ, त्यसैले धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ ।

दुई÷तीन वर्षको अन्तरालमा धानको बीउ बदलेर खेती गरेमा उत्पादन वृद्धि हुने गरेको उहाँले बताउनु भयो । ‘विगतमा चार÷पाँच वर्षसम्म एउटै बीउ लगाउने गरिन्थ्यो, अहिले कृषकमा नियमितरूपमा उन्नत जातको बीउ प्रयोग गर्नेक्रम बढेको छ’, उहाँले भन्नु भयो । ‘यसले किरा लाग्न दिँदैन, त्यसले गर्दा बीउ बदलेर खेती गर्दा २० देखि २५ प्रतिशत उत्पादन बढ्छ ।’

उक्त केन्द्रका अनुसार केही वर्षयता उन्नत जातको बीउको प्रयोग बढेको छ । अहिले कृषकले हर्दीनाथ, सुक्खाको एकदेखि चारसम्म, राधा चार, साँवा मन्सुलीलगायत उन्नत जातका बीउ प्रयोग गरिरहेका छन् ।

गत वर्ष कात्र्तिैैकमा आएको बाढीले कञ्चनपुरमा धान बालीमा ठूलो क्षति गरेकाले गत वर्ष दुई दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर अर्थात् एक लाख २१ हजार दुई सय ४० मेट्रिकटन मात्रै धान उत्पादन भएको थियो ।
‘अहिले गत वर्षको जस्तो बाढी र वर्षाले धानमा क्षति पु¥याएको छैन, करिब पाँच देखी सात प्रतिशत धानमा मात्रै क्षति पुगेको सूचना अधिकारी जोशीले भन्नु भयो । ‘बेलौरी, लालझाडीतिर बढी क्षति छ तर गत वर्षभन्दा धान उत्पादन बढ्छ ।’

यस वर्ष कञ्चनपुरमा तीन दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । यस वर्ष किसानले मलखाद पनि समयमै पाएको सूचना अधिकारी जोशीको जिकिर छ ।

विसं २०७७ मा कञ्चनपुरमा धानको उत्पादन तीन दशमलव नौ मेट्रिकटन प्रतिहेक्टर थियो । कञ्चनपुरको बेलौरी, पुर्नर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय