कैलाली वहुमुखी क्याम्पसको सुत्रपातमा पहिलो पटक वृहत राष्ट्रिय सम्मेलन आयोजना हुने

Image

धनगढी। सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसको सुत्रपात (प्रारम्भिक थालनी) मा पहिलो पटक वृहत राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
अध्ययन अध्यापनको परम्परागत ढङ्गलाई परिमार्जन गर्दै पत्रिका (जर्नल) प्रकाशनको माध्यमबाट ज्ञानको प्रवद्र्धन गर्ने उदेश्यले कैलाली वहुमुखी क्याम्पस अन्तर्गतको “अनुसन्धान तथा व्यवस्थापन सेल” ले यही चैत्र १८ र १९ गते (शनिबार र आईतबार) उक्त वृहत राष्ट्रिय कार्यपत्र कार्यशाला सम्मेलन आयोजना गर्दै छ ।
प्राज्ञिक व्यक्तित्वहरुले समाजमा रहेको स्थिर संस्कृतिलाई अनुसन्धानका माध्यमबाट बाहिर ल्याउने तथा समाजमा विद्यमान संस्कृति र प्रचलनलाई प्रवद्र्धन गरि ज्ञानको रुपमा विकास गर्ने उक्त सेलका संयोजक एवं सह–प्राध्यपक मोहन सिंह साउँदले वताउनुभयो ।
उहाँका अनुसार सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली वहुमुखी क्याम्पसको आयोजनामा हुने उक्त कार्यक्रममा नेपालका त्रिभुवन विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, काठमाण्डौँ विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, र भारतको लखनउ विश्वविद्यालयका प्राज्ञिक व्यक्तिहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन ।
जसमा कैलाली वहुमुखी क्याम्पसका १० जना प्राध्यापक, भारतको लखनउ विश्वविद्यालयका २ जना र नेपालका अन्य विश्वविद्यालयका ५० गरी ६२ जना प्राध्यापकहरु रहने जनाईएको छ ।
विहीबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै संयोजक साउँदले “अनुसन्धान तथा व्यवस्थापन सेल”ले अनुसन्धानात्मक लेखहरु समेटेर वार्षिक रुपमा “केएमसी जर्नल” पत्रिका प्रकाश गर्ने गरेको वताउनुभयो ।
यस्तै कैलाली वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा.राजेन्द्रवीर चन्दले अनुसन्धान गरेका विषयवस्तुलाई बाहिर ल्याउने प्रयासको थालनी र निरन्तरता तथा त्यसलाई आलोचनात्मक समिक्षा सहित भोलीका लागि मार्गदर्शन हुने र समाजमा त्यसको उपादेयता सिद्ध गर्न सक्नुपर्ने वताउनुभयो।
यस्तै क्याम्पसका आम सञ्चार र पत्रकारिता विभागका उप–प्राध्यापक भुवन भण्डारीले सम्वन्धित क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा उल्लिखित तथ्य तथ्याङ्कले समाजलाई सहयोग पुग्ने वताउनुभयो। यसले अनुसन्धानको दायरालाई फराकिलो बनाउनुका साथै विश्वविद्यालय र विद्यार्थीहरुमा नयाँ ज्ञानको निर्माण हुने उहाँको भनाई छ ।
उक्त गोष्ठी कैलाली वहुमुखी क्याम्पसमा दुबै दिन विहान ७ बजे देखि वेलुका ५ बजेसम्म हुनेछ। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उप–कूलपति प्राध्यपक डा.नन्द बहादुर सिंह प्रमुख अतिथि रहने जनाईएको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय