गाउँको त्यो सानो घरमा,
बा आज पनि सपना देख्नुहुन्छ
“मेरो छोरा/छोरीले पढेर
सरकारी जागिर खाओस्,
सेतो सर्ट लगाएर
बिहान घरबाट निस्कियोस्,
साँझ थाकेर फर्किँदा
आमाको हातको खाना खाओस्।
बाको सपना साँच्चै सुन्दर छ,
किनकि त्यस सपनामा
मेरो भविष्य मात्र होइन,
उहाँको बुढेसकाल पनि अटाएको छ।
तर बा…
मेरो आँखाले अर्कै सपना देख्छ।
मलाई पनि रहर छ,
पासपोर्ट बोकेर विमान चढ्ने,
अपरिचित देशको आकाशमुनि
आफ्नो भाग्य खोज्ने,
रातदिन पसिना बगाएर
घरको ऋण तिर्ने।
बा भन्नुहुन्छ,
“विदेश नजा,
परदेशमा आफ्ना कोही हुँदैनन्।”
म मनमनै भन्छु,
“बा, आफ्ना त तपाईंहरू हुनुहुन्छ,
त्यसैले त परदेश जान खोज्दैछु।”
तपाईंले मलाई
सरकारी जागिरमा सुरक्षित देख्नुभयो,
मैले तपाईंलाई
परदेशको कमाइले सुखी देख्न चाहेँ।
तपाईं भन्नुहुन्छ,
“देशमै बसेर केही गर।”
म सोचिरहन्छु,
“देशमै बसेर
तपाईंको ऋण कसरी तिरूँ बा?”
कहिलेकाहीँ लाग्छ,
मेरो सपना स्वार्थी छ कि क्या हो?
फेरि आमाको पुरानो चप्पल देख्छु,
बाको च्यातिएको टोपी देख्छु,
घरको चुहिने छानो सम्झन्छु,
अनि लाग्छ,
मेरो विदेश जाने सपना
रहरभन्दा बढी बाध्यता रहेछ।
बा,
म विदेश गएँ भने
तपाईंलाई छोडेर गएको नसम्झनू,
तपाईंको सपना पूरा गर्न
अर्को बाटो रोजेको सम्झनू।
म परदेशमा रोएँ भने पनि
तपाईंलाई नभन्न सक्छु,
भोकै बसेँ भने पनि
“खाना खाएँ” भन्न सक्छु,
थाकेर ढलेँ भने पनि
“म ठिक छु बा” भन्न सक्छु।
किनकि मलाई थाहा छ,
मेरो दुःख सुन्नुभयो भने
तपाईंको मुटु दुख्छ।
एक दिन…
सायद म फर्केर आउनेछु।
त्यो दिन हातमा
ठूलो सरकारी नियुक्तिपत्र नहोला,
तर बाको सपना जस्तै
एउटा सुन्दर घर बनाउनेछु।
बाको हातमा
औषधि राखिदिँदै भन्नेछु,
“बा, तपाईंले सरकारी जागिरको सपना देख्नुभएको थियो,
मैले विदेश जाने सपना देखेँ…
तर दुवैको उद्देश्य एउटै रहेछ,
तपाईंको अनुहारमा मुस्कान।”
अन्ततः बुझें बा,
तपाईंको सपना
मेरो लागि थियो,
मेरो सपना पनि
तपाईंहरूकै लागि हो।
त्यसैले,
बाको सपना सरकारी जागिर,
मेरो सपना विदेश…
तर हाम्रो अन्तिम सपना एउटै
आफ्नो परिवारको सुख।
–लेखक दिपा अवस्थी कैलाली बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।




















