कैलाली बहुमुखी क्याम्पसमा नवउद्यमी सम्मेलन आयाेजना हुने, बीउपूँजीदेखि लगानीसम्मको अवसर

Image

धनगढी । विदेश जाने वा पढाइ सकेपछि रोजगारी खोज्ने विकल्पभन्दा आफ्नै ठाउँमा व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित गर्दै सुदूरपश्चिममा नवउद्यमी सम्मेलन आयोजना हुने भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसको इन्क्युबेसन सेन्टरले करिब ७० जना युवाका व्यावसायिक अवधारणा छनोट गरी प्रशिक्षणदेखि लगानीको पहुँचसम्म जोड्ने तयारी गरेको हो । छनोट हुनेमध्ये ३५ जना विद्यार्थी र ३५ जना अन्य युवा उद्यमी तथा व्यवसायी रहनेछन् ।

‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन २०८३’ नाम दिइएको कार्यक्रम कार्तिक १३ देखि १५ गतेसम्म कैलाली बहुमुखी क्याम्पसमा हुनेछ । ‘स्थानीय सम्भावनादेखि लगानीयोग्य उद्यमसम्म’ भन्ने अवधारणामा आयोजना हुने सम्मेलनमा राष्ट्रिय योजना आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सहयोग रहनेछ । स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रलगायत संस्थासँग पनि सहकार्य गरिएको आयोजकले जनाएको छ ।

फारवेस्टर्न युनिभर्सिटी इन्क्युबेसन सेन्टरका निर्देशक प्राध्यापक डा. राजेन्द्रवीर चन्दले कार्यक्रमलाई केवल तीन दिनको सम्मेलनका रूपमा मात्र नहेरी उद्यमी छनोटदेखि व्यवसाय विकाससम्मको प्रक्रियाका रूपमा अघि बढाइएको बताउनुभयाे।

‘बिजनेस इन्क्युबेशन सेन्टरबाट उद्यमशीलता प्रवर्द्धनका लागि विगतदेखि नै केही न केही गर्दै आइरहेका थियौँ, जसमा सार्वजनिक क्षेत्र र बिजनेस एकाडेमिया क्षेत्रको सहभागिता थियो नै,’ उहाँले भन्नुभयाे, ‘यो वर्ष पनि विश्वविद्यालय, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य साझेदार निकायहरुको साझेदारीमा सुदूरपश्चिम प्रदेशमा व्यवसायलाई प्रवर्द्धन गर्ने, नयाँ सोच भएका विभिन्न क्षेत्र, तह र तप्कामा लुकेर रहेका प्रतिभा भएका युवाहरुलाई यो क्षेत्रको आर्थिक विकास र स्वरोजगार सिर्जनाका लागि आवश्यक ज्ञान, सीप तथा प्रशिक्षण प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ।’

चन्दका अनुसार इन्क्युबेसन सेन्टरले यसअघि पनि विद्यार्थीलाई उद्यममा जोड्ने काम गरेको थियो । अघिल्लो चरणमा २७ जना विद्यार्थीलाई तालिम दिइएको र पाँच लाख रुपैयाँसम्म बीउपूँजी उपलब्ध गराइएको उहाँले बताउनुभयाे।

‘विगतमा पनि यस इन्क्युबेसन सेन्टरबाट २७ जना विद्यार्थीहरुलाई तालिम र न्यूनतम पाँच लाखसम्मको बीउपूँजी उपलब्ध गराएर स्वरोजगारी सिर्जना गरेका छौँ,’ उहाँले भन्नुभयाे, ‘यसमा खुला सहभागिता रहन्छ । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जुनसुकै व्यक्तिहरुले आफ्नो आइडियासहित प्रस्ताव पेश गर्न सक्नेछन्।’

यसपटक पनि कार्यक्रममा सहभागी हुन कम्पनी दर्ता गरिसकेको वा सञ्चालनमा रहेको व्यवसाय नै हुनुपर्ने बाध्यता छैन । व्यवसायको प्रारम्भिक सोच, स्थानीय समस्या, बजारमा देखिएको अवसर वा आफूले जानेको सीपलाई व्यवसायमा बदल्ने योजना भएका व्यक्तिले समेत आवेदन दिन सक्नेछन् ।

विश्वविद्यालय तथा क्याम्पसका विद्यार्थी, हालै स्नातक गरेका युवा, प्रारम्भिक चरणका उद्यमी, नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, प्राविधिक तथा व्यावसायिक सीप भएका व्यक्ति र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कार्यक्रममा सहभागी गराउने व्यवस्था गरिएको छ ।

स्थानीय समस्या वा आवश्यकता पहिचान गरेका तथा स्थानीय स्रोत, सीप र प्रविधिलाई व्यवसायमा प्रयोग गर्न चाहने व्यक्तिले पनि प्रस्ताव पेश गर्न सक्नेछन् । कृषि तथा कृषि प्रशोधन, जडीबुटी र प्राकृतिक उत्पादन, पर्यटन, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, प्राविधिक सेवा, हस्तकला, मौलिक ज्ञान, हरित उद्यम, शिक्षा, स्वास्थ्य तथा डिजिटल वित्तीय सेवासहितका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

प्राप्त प्रस्तावको प्रारम्भिक मूल्याङ्कनपछि आवश्यक परे आवेदकसँग अन्तर्वार्ता वा छलफल गरिनेछ । उद्यमशील बन्ने चाहना, कार्यक्रमपछि कामलाई निरन्तरता दिने प्रतिबद्धता, स्थानीय आवश्यकता तथा बजारसँगको सम्बन्ध, कार्यान्वयन क्षमता, सीप तथा अनुभव र सम्भावित ग्राहक तथा बजारलाई आधार बनाएर सहभागी छनोट गरिनेछ ।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टका अनुसार कार्यक्रमको उद्देश्य सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय स्रोत, सीप र सम्भावनालाई व्यवसायसँग जोड्नु हो ।

‘सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका हरेक पालिकाका प्रत्येक वडामा उद्यमशील सोचको विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ उहाँले भन्नुभयाे, ‘अहिलेलाई हामीले ३५ वटा विद्यार्थी र ३५ वटा अन्य व्यवसायी गरी ७० जनाको प्रस्तावना स्वीकृत गर्नेछौँ।’

उहाँका अनुसार यसअघि बीउपूँजी सहयोग पाएका केही विद्यार्थी व्यवसायमा टिक्न नसकेको अनुभवका आधारमा यसपटक उद्यमीलाई लामो समयसम्म व्यवसायमा टिकाइराख्ने उपायसमेत समेटिएको छ । बैंकबाट सहुलियत ऋण, उद्यमीको आफ्नै लगानी र इन्क्युबेसन सेन्टरको सहयोगलाई एकै ठाउँमा जोड्ने योजना बनाइएको छ ।

‘यसपटक विद्यार्थीहरुलाई व्यवसायमा टिकाउन, बैंकमार्फत सहुलियत ऋण उपलब्ध गराउने, त्यत्तिकै मात्रामा उनीहरुले लगानी लगाउने र इन्क्युबेशन सेन्टरबाट पनि सहयोग गर्ने त्रिपक्षीय सहयोगको अवधारणा अगाडि बढाएका छौँ,’ उहाँले भन्नुभयाे।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाका अनुसार सम्मेलनको अर्को उद्देश्य विद्यार्थी र विदेशबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्ने वातावरण तयार गर्नु हो ।

‘यो सम्मेलनबाट हामीले यो क्षेत्रका करिब ७० जना युवाहरुलाई उद्यमी बनाउनको लागि यो आयोजना गर्न लागेका छौँ,’ उहाँले भन्नुभयाे, ‘क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वा विदेशबाट फर्किएका नवउद्यममा प्रवेश गर्न चाहने आइडिया, सोच र क्षमता भएका युवाहरुलाई आवश्यक बीउपूँजी उपलब्ध गराउने र अवसरको सिर्जना गर्न खोजेका हौँ।’

विदेशबाट फर्किएका युवालाई पुनः वैदेशिक रोजगारीतर्फ जानुको सट्टा आफ्नै क्षेत्रमा व्यवसाय सुरु गर्ने अवसरका रूपमा कार्यक्रमलाई लिनुपर्ने हार्डवेयर व्यवसायी संघ कैलालीका महासचिव धर्मराज जोशीको भनाइ छ ।

‘विदेशबाट फर्किएर केही गर्न चाहेका र नयाँ व्यवसायीहरुका लागि यो ठूलो अवसर बन्न सक्छ,’ उहाँले भन्नुभयाे, ‘यसलाई हामीले व्यवसाय प्रवद्र्धनका लागि सुदूरपश्चिम मोडेलका रुपमा अगाडि बढाउनुपर्छ।’

‘विदेशबाट फर्किएर केही गर्न चाहेका र नयाँ व्यवसायीहरुका लागि यो ठूलो अवसर बन्न सक्छ,’ उहाँले भन्नुभयाे, ‘यसलाई हामीले व्यवसाय प्रवद्र्धनका लागि सुदूरपश्चिम मोडेलका रुपमा अगाडि बढाउनुपर्छ।’

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डा. तारादत्त भट्टले विश्वविद्यालयको तर्फबाट कार्यक्रमलाई अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए । विश्वविद्यालय अनुदान आयोगबाट समेत सहयोग मिलिरहेको उल्लेख गर्दै उनले इन्क्युबेसन सेन्टरलाई थप व्यवस्थित ढंगले अगाडि बढाउने बताउनुभयाे ।

सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका निवर्तमान डीन प्राध्यापक डा. पदमराज जोशीले भने शिक्षण संस्थाको भूमिकालाई रोजगारी र उद्यमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयाे।

‘अहिले क्याम्पस र विश्वविद्यालयले पढाएर मात्र हुँदैन, रोजगार पाउँछ कि पाउँदैन भन्ने कुरा देशभर चलिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘कुनै पनि शैक्षिक संस्था राम्रो हुनका लागि पढ्दै कमाउँदै कार्यक्रममा आबद्ध गराउनुपर्ने अवस्था आएको छ।’

उहाँका अनुसार उद्योग तथा शैक्षिक संस्थाबीच सहकार्य बढाएर बजारको आवश्यकता अनुरूप शैक्षिक कार्यक्रम र सीप विकासमा ध्यान दिनुपर्छ ।

सम्मेलनको तयारी भने आवेदन लिएर सहभागी छनोट गर्ने चरणमै सीमित हुने छैन । छनोट भएका युवालाई सम्मेलनअघि नै उद्यमशीलताको आधार, ग्राहक पहिचान, बजार अध्ययन, व्यवसायको नमुना, वित्तीय साक्षरता, लागत र बजार अवस्थाबारे प्रशिक्षण दिइनेछ ।

उनीहरूले आफ्ना सम्भावित ग्राहक, प्रतिस्पर्धी, आपूर्तिकर्ता र बजारबारे प्रारम्भिक अध्ययन गर्नेछन् । त्यसबाट व्यवसायिक अवधारणा परिमार्जन गर्ने र वास्तविक बजारमा त्यसको सम्भावना जाँच्ने अवसर पाउने आयोजकको भनाइ छ ।

कार्तिक १३ देखि १५ गतेसम्म हुने तीनदिने प्रशिक्षणमा व्यवसायिक नमुना तयार गर्ने, ग्राहक तथा बजारको परीक्षण गर्ने, नमुना उत्पादन वा न्यूनतम व्यवहार्य उत्पादन बनाउने, ब्रान्ड निर्माण गर्ने, बिक्री तथा बजार पहुँच बढाउनेलगायत विषयमा अभ्यास गराइनेछ । कृत्रिम बुद्धिमत्ता तथा डिजिटल उपकरणको प्रयोग, लागत र आम्दानीको हिसाब, लगानीकर्तासमक्ष प्रस्तुति तथा पूँजी जुटाउने तयारीसमेत प्रशिक्षणको हिस्सा हुनेछ ।

त्यसपछि सम्भावना देखिएका उद्यमीले लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र, उद्यमी र सरकारी निकायका प्रतिनिधिसमक्ष आफ्ना व्यावसायिक योजना प्रस्तुत गर्नेछन् । ग्राहक र बजारको प्रमाण, उत्पादनको नमुना, लागत, मूल्य निर्धारण, वित्तीय आवश्यकता र लगानी प्रस्तावका आधारमा प्रस्तुति तयार गरिनेछ ।

त्यस्ता उद्यमलाई आवश्यकता र सम्भाव्यताका आधारमा बीउपूँजी, बैंक तथा वित्तीय पहुँच, लगानीकर्तासँग सम्पर्क, प्राविधिक सहयोग तथा बजार सञ्जालमा जोड्न सहजीकरण गर्ने योजना छ । तर सबै सहभागीले अनिवार्य रूपमा आर्थिक सहयोग पाउने नभई उद्यमको सम्भाव्यता, उपलब्ध स्रोत र सम्बन्धित संस्था वा लगानीकर्ताको निर्णयमा सहयोग निर्भर रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको अर्को चरणमा सम्भावनायुक्त उद्यमलाई ९० दिने उद्यम विकास कार्यक्रममा जोडिनेछ । कैलाली बहुमुखी क्याम्पसको उद्यम विकास केन्द्रमार्फत सञ्चालन हुने उक्त कार्यक्रममा ग्राहक परीक्षणदेखि पहिलो बिक्रीसम्मका चरणमा सहयोग गरिनेछ ।

व्यवसाय दर्ता, नमुना उत्पादन, लागत तथा मूल्य निर्धारण, ब्रान्ड निर्माण, लेखा व्यवस्थापन, बैंक तथा वित्तीय संस्थासँगको पहुँच र लगानीकर्तासँग सम्पर्कजस्ता विषयमा पनि निरन्तर मार्गदर्शन दिइनेछ ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत कैलाली बहुमुखी क्याम्पसले सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि असोज मसान्तसम्म आवेदन दिन सकिनेछ । आवेदकले व्यवसायको नाम, पृष्ठभूमि, व्यवसायको प्रकृति, वित्तीय योजना, उत्पादन वा सेवाको विवरण, बजारीकरण रणनीति, दिगोपन, नवीनता र व्यवसायिक नैतिकतासहितको प्रस्ताव पेश गर्नुपर्नेछ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय