धनगढी । कैलाली बहुमुखी क्याम्पसमा ‘नेपालमा उच्च शिक्षाको वर्तमान अवस्था’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
क्याम्पसको शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टर (नेपाली समूह) को आयोजनामा भएको प्रतियोगितामा शिक्षाशास्त्र सङ्काय प्रथम सेमेस्टरका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले नेपालको उच्च शिक्षाको अवस्था, विद्यमान समस्या, चुनौती तथा सुधारका सम्भावनाका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा तारा ऐरी प्रथम, श्रीदेवी महरा द्वितीय तथा सन्तोष सन्ज्याल र उर्मिला धामी तृतीय भएका छन्। यस्तै, चित्रा मटेलीले सान्त्वना स्थान हासिल गरेकी छन्। प्रथम हुने ऐरीले दुई हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीय हुने महराले एक हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र, तृतीय भएका सन्ज्याल र धामीले जनही एक हजार रुपैयाँसहित प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गरेकी मटेलीले सात सय रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।
कार्यक्रमको अध्यक्षता विद्यार्थी यसोदा जोशीले गरेकी थिइन्। क्याम्पस प्रमुख डा. लोकबहादुर विष्ट प्रमुख अतिथि रहेको कार्यक्रममा स्ववियु प्रतिनिधि तथा शिक्षाशास्त्र सङ्कायका विद्यार्थी र प्राध्यापकहरूको सहभागिता रहेको थियो।




















