आज राष्ट्रिय शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने, सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण निकायमा शोक बिदा

Image

धनगढी। इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा आज राष्ट्रिय शोकको घोषणासहित राष्ट्रिय झण्डा आधा झुकाइँदै छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैअनुसार आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

सरकारले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका र स्वदेश आउन चाहने सबै नेपालीहरुलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले २ लाख रूपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले हिजो एक विज्ञप्ति निकालेर इजरायलमा भएको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीको परिवारलाई राहत स्वरूप २ लाख रूपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायबाट इजरायल पुगेका ४९ जना विद्यार्थीमध्ये हमास समूहको आक्रमणमा १० जना विद्यार्थीले ज्यान गुमाएका थिए । विश्वविद्यालयले आज आफ्ना सम्पूर्ण निकायहरुमा शोकसभा गरी शोक बिदा दिने निर्णय गरेको छ । यसैबिच कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन भईरहेका दोस्रो सेमेस्टरका अर्ध–सत्र परिक्षाको आजको विषय २६ गते सारिएको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोक बहादुर बिष्टले जानकारी दिनुभयो।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय