धनगढीमा भ्रष्टाचार न्यूनीकरण गर्न ‘नमस्ते मेयर जनगुनासो सुनवाइ’ सेवा सञ्चालनमा ल्याइएको छ। भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याइएको हो ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसर पारेर यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले शुक्रबारदेखि नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा ल्याएको उपमहानगरपालिकाले जनाएको छ। धनगढीका मेयर गोपाल हमाल, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा र शिक्षाविद् तथा प्राध्यापक डा.हेमराज पन्तले संयुक्त रुपमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले नमस्ते मेयर जनगुनासो सुनवाइ सेवाको शुभारम्भ गर्नु भयो । यूएनडीपीका संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजनाका परियोजना अधिकृत मनोज ओझाले स्थानीय तहमा देशमै पहिलो पटक धनगढी उपमहानगरपालिकामा नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा सञ्चालनमा आएको बताउनुभयो ।
उहाँकाअनुसार उक्त सेवा अन्तरगत सेवाग्राहीले क्युआर कोड स्क्यान गरेर फेसबुक, ट्वीटर, इन्स्टाग्राम, वाट्स एप मार्फत पनि गुनासा तथा सुझावहरु टिपाउन सक्ने व्यवस्था मिलाइएको छ । गुनासा तथा सुझाव संकलनका लागि यूएनडीपीको सहयोगमा उपमहानगरपालिकाले छुट्टै जनगुनासो इकाइ पनि बनाएको छ । जनगुनासाका लागि १६६०९१५२७७७ को टोल फ्री नम्बर पनि राखिएको छ । नमस्ते मेयर जनगुनासो सुनवाइ सेवा शुभारम्भ गर्दै धनगढीका मेयर गोपाल हमालले धनगढीलाई भ्रष्टाचार मुक्त उपमहानगरपालिका बनाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

















