केएमसीः मैत्रीपूर्ण फुटबल खेलमा प्राध्यापकहरूले स्ववियुलाई ३–१ गोल अन्तरले हराए

Image

धनगढी । कैलाली बहुमुखी क्याम्पसको ४५ औँ वार्षिकोत्सवको अवसरमा माघ ११ गतेदेखि सञ्चालन भइरहेको खेल सप्ताह अन्तर्गत शनिबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र क्याम्पसका प्राध्यापकहरूबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।

उत्सवलाई थप रोचक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त खेलमा प्राध्यापकहरूको टोलीले स्ववियुलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको सुरुआतदेखि नै प्राध्यापक टोलीले आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो हाफमा प्राध्यापक टोलीका अनिल ओझाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफमा स्ववियु टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सकेन।

दोस्रो हाफमा खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। प्राध्यापक टोलीका विकास चौधरीले दोस्रो हाफको सुरुआतमै गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि पुनः अनिल ओझाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित लगभग सुनिश्चित गरे।

स्ववियुका तर्फबाट देवेन्द्र धामीले दोस्रो हाफमै एक गोल गर्दै खेललाई लयमा फर्काउने प्रयास गरे पनि बाँकी समयमा थप गोल गर्न नसक्दा टोली पराजित हुन पुग्यो।

प्राध्यापकहरुको टोलीमा देवराज जोशी (कप्तान), नरेन्द्र शाह, सन्तोषराज पाण्डे (गोल किपर), शिद्धराज पण्डीत, पुष्कर पन्त, उमेश बिष्ट, यज्ञराज अवस्थी, अनिल ओझा, विवेक जोशी, कर्मचारीहरु विकास चौधरी र खुसीराम चौधरी रहेका थिए।

त्यस्तै स्ववियुको टोलीमा अध्यक्ष सन्तोष पन्त (कप्तान), उपाध्यक्ष कमल ऐडी, सचिव ओम प्रकाश वस्ती, आकाश भट्ट, काेषाध्यक्ष धर्मराज तिमिल्सिना, जनक खड्का (गोल किपर), राम बोगटी, टेक वोगटी, राम रोकाया, पुजन विष्ट, टेक सिंह धामी र देवेन्द्र धामी रहेका थिए।

खेल सप्ताह अन्तर्गत अन्य विभिन्न खेलकुद कार्यक्रमहरू पनि निरन्तर सञ्चालन भइरहेका छन्।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय