कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीले बनाए ‘आभा’ हर्बल साबुन र मैनबत्ती, विक्री गर्ने तयारी

Image

धनगढी। कैलाली बहुमुखी क्याम्पसका विज्ञान संकायका विद्यार्थीले वनस्पतिजन्य कच्चा पदार्थ प्रयोग गरी हर्बल साबुन र मैनबत्ती उत्पादन गरेका छन्। क्याम्पसको विज्ञान प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक कच्चा पदार्थ तयार गरी त्यसको प्रशोधनमार्फत साबुन तथा मैनबत्ती उत्पादन गरिएको हो।

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रयाेगशालामा उत्पादन गरेकाे मैनबत्ती (तस्बीरः जयन्त सिंह भाट-केएमसी)

क्याम्पसले विद्यार्थीलाई प्रयोगशालामा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्यासमा सीमित नराखी त्यसलाई उत्पादन र उद्यमशीलतासँग जोड्ने उद्देश्यले यस्तो अभ्यास सुरु गरेको जनाएको छ। उत्पादन प्रक्रियामा प्राध्यापकहरूको मार्गनिर्देशन तथा चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको छ।

कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रयाेगशालामा उत्पादन गरेकाे आभा हर्बल साबुन (तस्बीरः जयन्त सिंह भाट-केएमसी)

विज्ञान संकायकी विभागीय प्रमुख उपप्राध्यापक डा. रमादेवी जोशीका अनुसार साबुन तथा मैनबत्ती उत्पादनका लागि स्थानीय तथा वनस्पतिजन्य स्रोतबाट कच्चा पदार्थ तयार गरिएको हो। क्याम्पसकै प्रयोगशालामा विभिन्न वनस्पतिबाट आवश्यक पदार्थ प्रशोधन गर्नुका साथै मेन्थाको तेलसमेत उत्पादन गरी साबुनमा प्रयोग गरिएको उहाँले बताउनुभयो।

विद्यार्थीले उत्पादन गरेको साबुनको नाम ‘आभा’ राखिएको छ। साबुनमा नीम, एलोबेरा, लेमनग्रास, मुलतानी मिट्टी, भिटामिन ए, सी, ई र के, रिठ्ठा, सोप बेस तथा सुगन्धका लागि प्रयोगशालामै तयार गरिएको मेन्थाको तेल प्रयोग गरिएको डा. जोशीले जानकारी दिनुभयो।

साबुनमा सुगन्धका लागि प्रयाेग गिरएकाे मेन्थाकाे तेल (तस्बीरः जयन्त सिंह भाट-केएमसी)

क्याम्पसका अनुसार साबुनको गुणस्तर प्रमाणीकरण तथा बिक्रीका लागि आवश्यक अनुमति प्रक्रियाका लागि नमुना काठमाडौं पठाइएको छ। गुणस्तर परीक्षण तथा आवश्यक प्रक्रिया पूरा भएपछि उत्पादनलाई व्यावसायिक रूपमा बजारमा लैजाने तयारी क्याम्पसको छ।

क्याम्पसले अहिले साबुन र मैनबत्ती उत्पादनलाई प्रयोगात्मक अभ्यासका रूपमा अघि बढाए पनि त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने योजना बनाएको जनाएको छ। यसका लागि उत्पादनको गुणस्तर, प्याकेजिङ, बजार र बिक्री व्यवस्थापनमा समेत ध्यान दिने क्याम्पसको तयारी छ।

बजारीकरणमा धनगढी उपमहानगरपालिकाको सहयोग

बुधबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले कैलाली बहुमुखी क्याम्पसको विज्ञान प्रयोगशाला तथा विद्यार्थीले उत्पादन गरेका सामग्रीको अवलोकन गर्नुभयो।

क्याम्पसकाे विज्ञान प्रयाेगशालामा उत्पादित साबुन र मैतबित्तिकाे अवलाेकन गर्नुहुँदै धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमाल (तस्बीर जयन्त सिंह भाट-केएमसी)

अवलोकनका क्रममा नगरप्रमुख हमालले शैक्षिक संस्थाबाट उत्पादन भएका सामग्रीलाई बजारसँग जोड्नुपर्ने बताउनुभयो। उत्पादन सुरु गर्नु मात्रै पर्याप्त नहुने भन्दै उहाँले निरन्तर बजारको आवश्यकता पर्ने भएकाले बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

हमालले क्याम्पसले उत्पादन गरेका साबुन, मैनबत्ती तथा अन्य सामग्रीलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिबारिय महिला उद्यम मेलामा लैजान आग्रह गर्नुभयो। उहाँले क्याम्पसका उत्पादन बिक्रीका लागि निःशुल्क स्टल उपलब्ध गराउने बताउनुभयो।

“व्यापारिक प्रोडक्टलाई निरन्तर बजारको आवश्यकता पर्छ, त्यसैले तपाईँहरू नगरपालिकाले सञ्चालन गरेको शनिबारिय महिला उद्यम मेलामा सामग्री लिएर आउनुहोला, हामी निःशुल्क स्टल उपलब्ध गराउँछौँ। तपाईँहरूले उत्पादन गरेको सामानको प्रयोग र बजारीकरण गर्न म एकदमै उत्साहित छु।” उहाँले भन्नुभयाे।

उहाँले क्याम्पसलाई साबुनको प्याकेजिङका लागि आवश्यक सामग्रीको सूची उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो। प्याकेजिङलगायतका क्षेत्रमा नगरपालिकाले आवश्यक आर्थिक सहयोग गर्न सक्ने उहाँको भनाइ थियो।

नगरप्रमुख हमालले शैक्षिक संस्थाको उद्देश्य विद्यार्थीलाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र तयार गर्नु नभई उद्यम गर्न सक्ने बनाउनु पनि हुनुपर्ने बताउनुभयो। शिक्षालाई उत्पादन र उद्यमशीलतासँग जोड्न सके विद्यार्थी आफैँ रोजगारी सिर्जना गर्ने अवस्थामा पुग्ने उहाँको भनाइ थियो।

“हामी उद्यमशीलता प्रवद्र्धनमा तत्पर छौँ, क्याम्पस भनेको जागिर खाने मान्छे उत्पादन गर्ने होइन, उद्यमी उत्पादन गर्ने थलो बनाउनुपर्छ।” उहाँले भन्नुभयाे।

विद्यार्थीलाई पढ्दै कमाउने वातावरण निर्माण गर्न उपमहानगरपालिकाले रात्रीकालीन बजार सञ्चालनको तयारीसमेत गरिरहेको हमालले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बजार सञ्चालनमा आएपछि विद्यार्थी तथा साना उद्यमीले उत्पादन गरेका सामग्री बिक्रीका लागि थप अवसर प्राप्त गर्न सक्नेछन्।

साबुनपछि हार्पिक र ह्यान्डवास उत्पादनको तयारी

कैलाली बहुमुखी क्याम्पसले हर्बल साबुन र मैनबत्तीपछि दैनिक उपभोगमा प्रयोग हुने अन्य सामग्रीसमेत उत्पादन गर्ने तयारी गरेको जनाएको छ।

क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले विद्यार्थीको ज्ञान, सीप र प्रयोगात्मक अभ्यासलाई उत्पादनसँग जोड्ने प्रयासलाई क्याम्पसका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार क्याम्पसले निकट भविष्यमै हार्पिक र ह्यान्डवाससमेत उत्पादन गर्ने तयारी गरिरहेको छ।

“केएमसीका लागि यो एकदमै खुसीको क्षण हो। यसको मार्केटिङ आवश्यक छ। निकट भविष्यमै एक–दुई हप्तामै हार्पिक र ह्यान्ड वास पनि उत्पादन गर्दै छौँ। कैलाली बहुमुखी क्याम्पसले उत्पादन गरेको सामानलाई यहाँ खपत गराउन आवश्यक छ। त्यसबाट आम्दानी भएको रकम विद्यार्थीहरूलाई नै प्रदान गरिने छ। हामी बजारको मागअनुसार यसको उत्पादनको दायरा बढाउँदै लग्छौँ।” उहाँले भन्नुभयाे।

क्याम्पस प्रमुख विष्टका अनुसार उत्पादनबाट प्राप्त आम्दानी विद्यार्थीलाई नै उपलब्ध गराउने योजना छ। क्याम्पसमा उत्पादन हुने सामग्रीको बजार विस्तार गर्दै त्यसबाट विद्यार्थीले आर्थिक लाभ लिन सक्ने व्यवस्था मिलाउने तयारी गरिएको उहाँले बताउनुभयो।

साबुन उत्पादन प्रक्रियाबारे पेपर प्रस्तुत गर्दै विद्यार्थी (तस्बीरः जयन्त सिंह भाट-केएमसी)

क्याम्पसले उत्पादनलाई बजारको मागअनुसार विस्तार गर्ने र प्रयोगशालामा भइरहेको अभ्यासलाई क्रमशः उद्यमशीलतासँग जोड्ने योजना बनाएको छ। यसअन्तर्गत विद्यार्थीले उत्पादनको प्राविधिक पक्षसँगै लागत, प्याकेजिङ, बजार व्यवस्थापन, बिक्री तथा आम्दानी व्यवस्थापनबारे समेत व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।

यस्तै कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले क्याम्पसको प्रयोगशालाबाट व्यवसायिक उत्पादनतर्फ अघि बढ्ने प्रयास सकारात्मक भएको बताउनुभयो। उहाँले विद्यार्थीको सीपलाई उत्पादनसँग जोड्नु आवश्यक भए पनि बजारमा लैजानुअघि वस्तुको गुणस्तर र सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

“मानवीय प्रयोजनका लागि उत्पादित वस्तुको सबैभन्दा पहिले सुरक्षा र गुणस्तरीयता खोजिन्छ, त्यसैले यसतर्फ पनि जोड दिनुहोस्।” उहाँले भन्नुभयाे।

उहाँले साबुनलगायत मानव प्रयोगमा आउने वस्तु उत्पादन गर्दा गुणस्तर परीक्षण, सुरक्षित प्रयोग, आवश्यक मापदण्डको पालना र उपभोक्ताको विश्वास कायम गर्नुपर्ने बताउनुभयो। उत्पादनलाई व्यावसायिक बनाउने क्रममा गुणस्तरमा सम्झौता गर्न नहुने उहाँको भनाइ थियो।

कैलाली बहुमुखी क्याम्पसकाे विज्ञान प्रयाेगशाला अवलाेकन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य डा आनन्द बहादुर चन्द (तस्बीरः जयन्त सिंह भाट-केएमसी)

चन्दले सुदूरपश्चिम प्रदेशमा राष्ट्रियस्तरको आविष्कार केन्द्र स्थापना गर्ने विषयमा समेत पहल भइरहेको जानकारी दिनुभयो। विद्यार्थीमा रहेको सिर्जनशीलता र प्रयोगात्मक क्षमतालाई प्रोत्साहन गर्न शैक्षिक संस्थाबाट हुने यस्ता प्रयासलाई थप संस्थागत गर्नुपर्ने उहाँले बताउनुभयो।

विद्यार्थीको प्रयोगात्मक सिकाइलाई उद्यमसँग जोड्ने प्रयास

कैलाली बहुमुखी क्याम्पसले विज्ञान संकायमा हुने प्रयोगात्मक अभ्यासलाई उत्पादनमुखी बनाउने उद्देश्यले साबुन तथा मैनबत्ती उत्पादन सुरु गरेको जनाएको छ। यसबाट विद्यार्थीले पाठ्यक्रममा सिकेको विषयलाई प्रयोगशालामा परीक्षण गर्नुका साथै त्यसलाई वस्तु उत्पादनमा प्रयोग गर्ने अवसर पाएका छन्।

प्रयाेगशालामा विद्यार्थीहरु

विशेषगरी वनस्पतिबाट कच्चा पदार्थ तयार गर्ने, त्यसलाई प्रशोधन गर्ने, आवश्यक मिश्रण तयार पार्ने, उत्पादन गर्ने र बजारसम्म पु¥याउने प्रक्रियामा विद्यार्थीको सहभागिता रहेको क्याम्पसले जनाएको छ।

क्याम्पसका अनुसार यस्तो अभ्यासले विद्यार्थीलाई विज्ञान तथा प्रविधिको ज्ञानलाई स्थानीय स्रोत र आवश्यकतासँग जोड्न सहयोग पु¥याउनेछ। वनस्पतिजन्य स्रोतको उपयोगमार्फत उत्पादन गर्न सकिने वस्तु पहिचान गर्ने र त्यसलाई प्रयोगशालामै परीक्षण तथा उत्पादन गर्ने अभ्यासले अनुसन्धान तथा उद्यमशीलताको सम्भावना पनि बढाउने क्याम्पसको अपेक्षा छ।

क्याम्पसले उत्पादन गरेका सामग्रीलाई बजारमा लैजानुअघि आवश्यक गुणस्तर परीक्षण र अनुमति प्रक्रिया पूरा गर्ने जनाएको छ। त्यसपछि उत्पादनको मात्रा बढाउँदै बजारको मागअनुसार अन्य सामग्रीसमेत थप गर्दै जाने योजना क्याम्पसको छ।

यसअघि विज्ञान संकायका विद्यार्थीका लागि प्रयोगशाला मुख्यतः प्रयोगात्मक अध्ययन र अनुसन्धानको थलोका रूपमा प्रयोग हुँदै आएकोमा पछिल्लो अभ्यासले त्यसलाई उत्पादनसँग जोड्ने प्रयास गरेको छ। क्याम्पसले यसलाई निरन्तरता दिएर विद्यार्थीलाई अध्ययनसँगै उत्पादन र उद्यमशीलताको अनुभव दिलाउने लक्ष्य लिएको जनाएको छ।

‘आभा’ साबुनको गुणस्तर प्रमाणीकरण तथा बिक्री अनुमतिको प्रक्रिया पूरा भएपछि क्याम्पसले उत्पादनलाई औपचारिक रूपमा बजारमा लैजाने तयारी गरेको छ। त्यससँगै मैनबत्ती तथा आगामी दिनमा उत्पादन गर्ने भनिएका अन्य सामग्रीको समेत बजार विस्तार गर्ने क्याम्पसको योजना छ।

क्याम्पसले उत्पादनबाट हुने आम्दानी विद्यार्थीलाई नै प्रदान गर्ने नीति अघि सारेकाले प्रयोगशालामा हुने प्रयोगात्मक अभ्यासलाई आर्थिक गतिविधिसँग जोड्ने बाटोसमेत खुल्ने देखिएको छ। यसले विद्यार्थीलाई पढाइसँगै उत्पादन, व्यवस्थापन, बजारीकरण र उद्यमशीलताको प्रत्यक्ष अनुभव दिलाउने क्याम्पसको अपेक्षा छ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय