कैलाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा पत्रकारिता विषय पढाइ हुने

Image

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कैलाली बहुमुखी क्याम्पसले चालु शैक्षिक सत्र २०८३/८४ देखि स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन सुरु गर्ने भएको छ। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा उक्त विषयको पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको हो।

आइतबार क्याम्पसमा आयोजित पत्रकारहरूसँगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख सहप्राध्यापक डा. लोकबहादुर विष्टले चालु शैक्षिक सत्रदेखि नै पत्रकारिता तथा आमसञ्चार विषयको अध्यापन सुरु गर्ने जानकारी दिनुभयाे।

विश्वविद्यालयले स्नातकोत्तर तहको पाठ्यक्रमको प्रारूप तयार गरी अध्यापन सञ्चालनको तयारी अघि बढाएसँगै पाठ्यक्रमलाई थप व्यावहारिक, समयसापेक्ष र सञ्चार क्षेत्रको आवश्यकताअनुकूल बनाउन पत्रकारहरूसँग सुझाव संकलन गरिएको क्याम्पसले जनाएको छ।

कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पत्रकारिता विभागका उपप्राध्यापक एवं विषय विज्ञ भुवन भण्डारीले प्रस्तावित पाठ्यक्रमको स्वरूप, विषयवस्तु तथा मूल्याङ्कन प्रणालीबारे जानकारी गराउनुभएकाे थियाे।

त्यसैगरी सुदूरपश्चिम विश्वविद्यालय विषय समितिका संयोजक प्राध्यापक डा. राजेन्द्रवीर चन्दले पाठ्यक्रम निर्माणको प्रक्रिया र यसको शैक्षिक तथा व्यावसायिक महत्वबारे धारणा राख्नुभयाे। कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डा. मोहनसिंह साउदले पनि पत्रकारिता शिक्षालाई समयको माग र श्रमबजारको आवश्यकतासँग जोड्नुपर्नेमा जोड दिनुभएकाे थियाे।

छलफलका क्रममा सहभागी पत्रकारहरूले पत्रकारिता शिक्षालाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक अभ्यास, डिजिटल पत्रकारिता, मल्टिमिडिया, तथ्य जाँच, अनुसन्धान र समाचार उत्पादनजस्ता विषयलाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले विश्वविद्यालयको पाठ्यक्रमलाई सञ्चार क्षेत्रको बदलिँदो स्वरूप र व्यावसायिक अभ्याससँग जोड्नुपर्ने धारणा राखेका थिए।

क्याम्पसमा लामो समयदेखि स्नातक तहमा अध्यापन हुँदै आएको पत्रकारिता विषयलाई स्नातकोत्तर तहसम्म विस्तार गर्न लागिएकोमा सहभागी पत्रकारहरुले खुसी समेत व्यक्त गरे।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय